निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडाैं | असोज १९, २०७९

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा तस्बिर फाइल

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्याउनुभएको छ ।

 

नेपालीहरूको महान् चाड बडादशैं २०७९ को अवसरमा शुभकामना दिँदै उहाँले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ । आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उहाँको भनाइ छ ।

 

प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।

 

उहाँले नेपालीहरूको महान् चाड बडादशैं २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताउनुभएको छ । साथै उहाँले समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन हामीलाई प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै हाम्रो सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गर्नुभएको छ ।

 

असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचार र सद्व्यवहारको विजयको पर्वका रूपमा मनाइने यो चाड नेपालीहरूबीच सांस्कृतिक एकता र सद्भाव प्रवद्र्धन गर्ने विशिष्ट पर्वको रूपमा परापूर्वकालदेखि मनाउँदै आइएको छ । दशैंलगायतका हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली जनताबीच पारस्परिक प्रेम, स्नेह, सद्भाव, भातृत्व, एकता र सहयोगी भावनालाई निरन्तर अघि बढाउन विशिष्ट योगदान पुयाउँदै आएको उहाँले बताउनुभएको छ ।

 

“बहुधार्मिक, बहुजातीय एवं बहुसांस्कृतिक नेपालका सबै जाति र समुदायको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ तुल्याउन सरकार प्रतिवद्ध छ । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकासबाट मुलुकको राष्ट्रिय एकता थप मजबुत हुन्छ” प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । दशैंलगत्तै तिहार, नेपाल संवत्, छठ र ल्होसार जस्ता अरू महत्वपूर्ण सांस्कृतिक, धार्मिक पर्वहरू पनि मनाइने क्रममा छन् ।

 

उहाँले कोभिड– १९ को सङ्क्रमण कायमै रहेको र डेङ्गुको प्रकोप बढ्दै गइरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित चाडपर्वहरू मनाउन सबैलाई अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यसवर्षको बडादसैँले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन तथा सत्य र न्यायको मार्गमा अविचलित रूपमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् भन्दै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्